काठमाडौँ,असार ५ ।
ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको करोडौँ रकम अपचलन गरी फरार भएका मुख्य आरोपी ज्योतिबहादुर भण्डारीलाई प्रहरीले कम्बोडियाबाट पक्राउ गरी काठमाडौँ ल्याएको छ। अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा उनलाई पक्राउ गरी सिंगापुर एयरलाइन्सको उडानमार्फत नेपाल ल्याइएको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरिरहेको यस प्रकरणमा भण्डारीविरुद्ध इन्टरपोलमार्फत 'रेड नोटिस' जारी गरिएको थियो। कम्बोडियाको स्थानीय कानुन उल्लङ्घन गरेको आरोपमा उनी त्यहाँ पक्राउ परेपछि नेपाल प्रहरीले इन्टरपोलमार्फत पत्राचार गरी उनलाई नेपाल ल्याउने प्रक्रिया अघि बढाएको थियो। भण्डारीलाई ल्याउन नेपाल प्रहरीका अधिकृतहरूको टोली कम्बोडिया पुगेको थियो।
बर्दिया घर भएका भण्डारीले ललितपुरको महालक्ष्मीस्थानमा सञ्चालित मितेरी सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
यो प्रकरणमा प्रहरीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ र उनकी पूर्वपत्नी ज्योति गुरुङमाथि पनि अनुसन्धान गरिरहेको छ, जसले गर्दा यो विषय थप चर्चामा आएको छ। पक्राउ परेका भण्डारीमाथि सीआईबीले थप अनुसन्धान गरी कानुनी कारबाही अगाडि बढाउनेछ।