काठमाडौँ,असार ४ ।
सशस्त्र प्रहरी बलले को ठोरी नाकाबाट अवैध रूपमा भारत हुँदै खाडी मुलुक जान लागेका चार महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको छ। मानव बेचबिखनको आशंकामा उनीहरूलाई पक्राउ गरिएको हो।
सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट (बीओपी) ठोरीबाट खटिएको टोलीले शंका लागेर जाँच गर्दा उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्ने महिलाहरू कुवेत र ओमान जानका लागि नयाँ दिल्लीको बाटो प्रयोग गर्न लागेको खुलेको छ।
बीओपी ठोरीका सशस्त्र प्रहरी निरीक्षक प्रेम राउतका अनुसार पक्राउ परेकामध्ये इलामका दुई महिला ओमन र रोल्पाका दुई महिला नयाँ दिल्ली हुँदै खाडी मुलुक जान लागेको प्रारम्भिक सोधपुछमा खुलेको छ। उनीहरूलाई भारत लैजान लागेको आरोपमा चितवनको माडी नगरपालिका–८ का दिपक खड्कालाई पनि नियन्त्रणमा लिइएको उनले जानकारी दिए।
सशस्त्र प्रहरीले इलामका महिलाहरूको साथबाट भिसा नलागेका दुईवटा राहदानी पनि बरामद गरेको छ। पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय ठोरीलाई बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।