मोबाइल: नियन्त्रण कि निर्भरता ?

Author

सजिलो पत्रिका

२०८२ जेठ ३१, शनिबार

226
Share1
Featured
  • बिहानको शुरुआत मोबाइलबाट: हामी दिनको सुरुवात मोबाइल स्क्रिनबाट गर्छौं, सूचना नभए पनि सामाजिक सञ्जाल हेर्न लालयित हुन्छौं। यसले दिनभरको प्राथमिकता नै प्रभाव पार्छ।
  • अदृश्य चक्र: प्रेरणादायी भिडियो हेरेर अनुशासित बन्ने सोच राखिए पनि फेरि त्यही स्क्रिनमा समय बित्छ। मोबाइल एउटा यस्तो चक्र बनेको छ, जहाँ चाहेर पनि अलग हुन सकिँदैन।
  • शैक्षिक प्रभाव: शिक्षक वा विद्यार्थी दुवै मोबाइलको लतबाट अछुतो छैनन्। अध्ययनमा ध्यान केन्द्रित हुनुपर्ने बेलामा मोबाइलले एकाग्रता भंग गरिरहेको छ।
  • मोबाइल बिना संसार: इन्टरनेट बन्द भएमा मात्र हामीले बाहिरी संसारको सुन्दरता महसुस गर्छौं। मोबाइलले हाम्रो प्राकृतिक, सामाजिक र पारिवारिक सम्बन्धहरूबाट टाढा गराइरहेको छ।
  • आत्मबोध र परिवर्तन: बिहान केही समय मोबाइलबाट टाढा रहेर स्वच्छ हावा, चराको आवाज, र वास्तविकता महसुस गर्न लेखकले प्रेरित गरेका छन्। यसबाट सानोतिनो आत्मबोधले ठूलो परिवर्तन ल्याउन सक्छ।
समाचार सारांशGenerated using AI.
बिहानको ५ बज्छ। अलार्मको कर्कश आवाजले निद्रा खुल्छ, तर बन्द गर्ने बित्तिकै हाम्रो हात स्वचालित रूपमा सिरानीमुनि, सिरकभित्र वा छेउमै राखिएको मोबाइल खोज्न थाल्छ। रातभर कुनै सूचना नआए पनि, कसैको सन्देश नबजे पनि हामीलाई बिहान हुने बित्तिकै त्यसैलाई हेर्न हतार हुन्छ।

कसले कस्तो स्टोरी राख्यो, कुन साथीको जन्मदिन रहेछ वा कुन पोस्टमा कति लाइक आएको छ। यी सबै नहेरी हाम्रो दिनको सुरुवात भएको महसुस नै हुँदैन। यी सबै जानकारी प्राप्त गरेपछि मात्र हामी भन्छौँ, “ओ हो‘।आज त धेरै काम छ, म धेरै व्यस्त छु।” तर, त्यो व्यस्तता सामाजिक सञ्जालमा सक्रिय देखिनका लागि हो कि साँच्चिकैको महत्त्वपूर्ण कामका लागि, त्यो भने हामी आफैँ पनि छुट्टाउन सक्दैनौँ।

मोबाइलको स्क्रिनबाट सुरु भएको हाम्रो दिन अक्सर त्यसमै गएर टुङ्गिन्छ। हामी कतिपय प्रेरणादायी भिडियो हेरेर बिहान ५ बजे उठ्ने वाचा गर्छौँ, आफूलाई सफल व्यक्तिको सूचीमा राख्ने सपना देख्छौँ, तर उठेपछि फेरि त्यही भिडियो वा अन्य मनोरञ्जनात्मक सामग्री हेर्नमै हाम्रो बहुमूल्य समय बित्छ। यो एउटा यस्तो अदृश्य चक्र हो, जहाँ हामीले चाहेर पनि आफूलाई पूर्ण रूपमा अलग्याउन सकिरहेका छैनौँ।

शिक्षक, विद्यार्थी, कर्मचारी वा गृहिणी, आज समाजको हरेक वर्ग र पेसाका व्यक्ति मोबाइलको जालोमा फसेका छन्। कक्षाकोठामा शिक्षकले महत्त्वपूर्ण विषयवस्तु पढाउँदै गर्दा विद्यार्थीको ध्यान डेस्कमुनि लुकाएको मोबाइलमा आउने नोटिफिकेसनमा हुन्छ। ज्ञान त स्क्रिनमै उपलब्ध छ, इन्टरनेटको माध्यमबाट असीमित जानकारीको भण्डार खुलेको छ, तर विद्यार्थीको ध्यान भने क्षणिक मनोरञ्जन र सामाजिक सञ्जालका फिडहरूमा हराएको छ। कम्प्युटरको माउस, किबोर्ड वा अन्य शैक्षिक उपकरणहरू चलाउनुभन्दा पहिले मोबाइलको स्क्रोलिङमा बढी समय बित्छ। यसले हाम्रो सिक्ने क्षमता र कुनै पनि काममा ध्यान केन्द्रित गर्ने बानीलाई गम्भीर रूपमा कमजोर बनाइरहेको छ।

कार्यालयको वातावरण पनि यसबाट अछुतो छैन। एउटा महत्त्वपूर्ण बैठक चलिरहेका बेला पनि हाम्रो आँखा बेलाबेलामा मोबाइलतिर जान्छ, इमेल वा च्याट हेर्ने बहानामा। कामको बिचमा आउने साइलेन्ट नोटिफिकेसनले हाम्रो मनलाई चञ्चल बनाइदिन्छ र एकाग्रता भङ्ग गर्छ। कहिलेकाहीँ त यस्तो लाग्छ, मोबाइलको अलर्ट र हाम्रो अन्तर्मनको अलर्ट बीचको भिन्नता छुट्टाउनै गाह्रो भइसकेको छ। हामी कुन कुरालाई प्राथमिकता दिने भन्नेमा अन्योलमा पर्छौँ, जसले हाम्रो उत्पादकत्व र मानसिक शान्ति दुवैमा नकारात्मक असर पार्छ।

सोचेर हेर्नुहोस् त, यदि एक छिनका लागि हाम्रो मोबाइलको इन्टरनेट सकियो वा ब्याट्री पूर्ण रूपमा सकिएर बन्द भयो भने के हुन्छ ? त्यतिबेला मात्र हामीलाई थाहा हुन्छ, मोबाइल नहुँदा पनि संसार चलिरहेको छ। बाहिर हावा चलिरहेको छ, चराचुरुङ्गी मधुर आवाजमा चिरबिर गरिरहेका छन्, अनि छेउमै राखेको चिया कप अझै तातिरहेको छ। हामी अचानक वास्तविक संसारसँग जोडिन पुग्छौँ। मोबाइलको स्क्रिनमा मात्रै संसार हेर्ने बानीले हाम्रो आँखालाई थकाइ दिन्छ, मस्तिष्कमा अनावश्यक तनाव उत्पन्न गराउँछ, तर हाम्रो हृदय भने अझै वास्तविक सम्बन्ध , शान्ति र आत्मसन्तुष्टिको गहिरो खोजीमा भोकै छ। प्रविधिको अत्यधिक प्रयोगले हामीलाई सामाजिक रूपमा जोडेको देखाए पनि, वास्तवमा हामीलाई आफ्नै परिवार, साथीभाइ र आफन्तबाट टाढा बनाइरहेको छ।

प्रविधि आफैँमा खराब होइन। हामी कम्प्युटर चलाउँछौँ, बालबालिकालाई डिजिटल साक्षरता, आर्टिफिसियल इन्टेलिजेन्स र भविष्यका प्रविधिबारे सिकाउँछौँ। वास्तवमा, प्रविधिले हाम्रो जीवनलाई सहज, सरल र प्रभावकारी बनाउनुपर्छ, यसले हामीलाई नियन्त्रणमा राख्नुहुँदैन।अहिले त यस्तो लाग्न थालेको छ, मोबाइल हातमा नभए जिन्दगी नै अधुरो भयो, केही महत्त्वपूर्ण कुरा छुटेको जस्तो महसुस हुन्छ। तर, वास्तविक अधुरोपन त तब आउँछ, जब हामी आफ्नो परिवार, आफ्ना व्यक्तिगत सोच, सिर्जनात्मक कार्यहरू र भोलिको योजनालाई भुल्छौँ। एउटा कहिल्यै नटुङ्गिने स्क्रोलको पछाडि लाग्दै।

आज हामी बिहान ५ बजे उठेर फेरि मोबाइल हेर्न सक्छौँ। यो हाम्रो बानी बनिसकेको छ। तर, कम्तीमा एक पटक आफैँलाई सोधौँ “हामी मोबाइल चलाइरहेका छौँ कि मोबाइलले हामीलाई चलाइरहेको छ ? यसको उत्तर खोज्दै गर्दा, कम्तीमा आज बिहान केही समय मोबाइललाई एक छेउमा राखेर आकाश हेर्दै गहिरो सास फेर्ने प्रयास गरौँ। बिहानको चिसो हावा महसुस गरौँ, चराको आवाज सुनौँ। यो एउटा सानो सुरुवात हो, हाम्रो जीवनमा सानो परिवर्तन ल्याउने र त्यसबाट ठुलो आत्म बोध प्राप्त गर्ने। के हामीले मोबाइललाई हाम्रो जीवनको चालक बन्न दिएका छौँ, वा हामी आफैँ त्यसको सही प्रयोग गरी आफ्नो जीवनलाई अझ अर्थपूर्ण बनाइरहेका छौँ ?

(हेमन्त पोख्रेल
कम्प्युटर शिक्षक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    महानिरीक्षकको आँसु कमजोरी होइन, संगठनप्रतिको लगाव

    काठमाडौँ । ‘सत्य, सेवा, सुरक्षणम्’—योनेपाल प्रहरीको मूल मन्त्र हो। यसले प्रहरी संगठनको आधारभूत सिद्धान्त र कर्तव्यलाई स्पष्ट पार्छ। निष्पक्ष अनुसन्धान, सत्यको अन्वेषण, नागरिकको जीउ-धनको रक्षा, निस्वार्थ सेवा र समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा कायम राख्नु नै यसको मर्म हो। यही आदर्शलाई आत्मसात् गर्न नेपाल प्रहरी अहोरात्र कार्यक्षेत्रमा खटिएको हुन्छ।यो मन्त्रले

    Data is loading...

    Loading brands...

    Loading footer...