काठमाडौँ । ‘सत्य, सेवा, सुरक्षणम्’—योनेपाल प्रहरीको मूल मन्त्र हो। यसले प्रहरी संगठनको आधारभूत सिद्धान्त र कर्तव्यलाई स्पष्ट पार्छ। निष्पक्ष अनुसन्धान, सत्यको अन्वेषण, नागरिकको जीउ-धनको रक्षा, निस्वार्थ सेवा र समाजमा शान्ति, सुव्यवस्था एवं सुरक्षा कायम राख्नु नै यसको मर्म हो। यही आदर्शलाई आत्मसात् गर्न नेपाल प्रहरी अहोरात्र कार्यक्षेत्रमा खटिएको हुन्छ।
यो मन्त्रले प्रहरीलाई सधैँ न्यायको पक्षमा उभिन र जनताको सारथि बन्न प्रेरित गर्छ। वि.सं. २०१२ मा प्रहरी ऐन जारी भएपछि संगठनलाई यही आदर्शमा ढाल्ने प्रयास गरिएको प्रहरी महानिरीक्षक दान बहादुर कार्की बताउँछन्। यही कर्तव्य पालनाका क्रममा धेरै सुरक्षाकर्मीले वीरगति प्राप्त गरेका छन्। यसको ज्वलन्त उदाहरण भदौ २३ र २४ गतेको विध्वंशमा ज्यान गुमाउने तीन जना प्रहरी हुन्। यो एउटा प्रतिनिधि घटना मात्र हो; नागरिक समाजलाई सभ्य बनाउन र समाजमा भयरहित वातावरण निर्माण गर्न प्रहरीले पटक-पटक यस्ता बलिदान दिँदै आएको छ।
कठोर बर्दीभित्रको वास्तविक प्रहरी
नेपाली समाजले प्रहरीलाई सधैँ ‘कडा मिजास’, ‘लठ्ठी’ र ‘बर्दी’ को घेराभित्र मात्र देख्दै आएको छ। तर, जब संगठनको सर्वोच्च पदमा रहेका प्रहरी महानिरीक्षक (आईजीपी) एक कार्यक्रममा बोल्दाबोल्दै भक्कानिए, तब समाजले प्रहरीको मानवीय पक्षलाई पनि नजिकबाट नियाल्ने मौका पायो। यसले नागरिक र प्रहरी संगठनबीचको दूरी कम गर्ने वातावरण सिर्जना गर्यो।
सोमबार गृहमन्त्री सुदन गुरुङ निरीक्षणका लागि प्रहरी प्रधान कार्यालय, नक्साल पुगेका थिए। अपराध अनुसन्धानदेखि डिजिटल फरेन्सिकसम्मको निरीक्षण पश्चात् आयोजित कार्यक्रममा गृहमन्त्रीले सीमित स्रोत-साधनका बाबजुद नेपाल प्रहरीले आफ्नो जिम्मेवारी उत्कृष्ट रूपमा निर्वाह गरेकोमा धन्यवाद दिए। उनले आगामी दिनमा निर्धक्क भएर काम गर्न निर्देशन दिँदै प्रहरीको व्यावसायिक भूमिकामा कुनै पनि तहबाट हस्तक्षेप नहुने प्रतिबद्धता जनाए।

सोही कार्यक्रममा कार्ययोजना प्रस्तुत गर्ने क्रममा महानिरीक्षक कार्कीले नेपाल प्रहरीले संविधान र कानुनले निर्दिष्ट गरेको परिधिभित्र रही ‘सत्य, सेवा, सुरक्षणम्’ को मर्मलाई निष्ठापूर्वक पालना गर्दै आएको बताए। “मैले मेरो पुलिसलाई टिकाउन सकिनँ...” भन्दै गर्दा आइजीपी स्तब्ध भए। हलमा सन्नाटा छायो। वर्दीभित्रको मान्छेका आँखा रसाएको देख्दा उपस्थित उच्च अधिकृतहरू समेत निःशब्द बने।
त्यो सन्नाटा चिर्दै गृहमन्त्री गुरुङ आफ्नो सिटबाट जुरुक्क उठे र ताली बजाउन सुरु गरे। त्यो ताली आईजीपीको कमजोरीका लागि थिएन, बरु उनको इमानदार स्वीकारोक्ति र पीडाप्रतिको ऐक्यवद्धता थियो। मन्त्रीको सङ्केतपछि पूरा हल तालीको गडगडाहटले गुञ्जियो। यो नेपाल प्रहरीको इतिहासमै एउटा यस्तो क्षण थियो, जहाँ ‘कमान्डर’ आफ्ना जवानका लागि रोइरहेको थियो र ‘सरकार’ ले उसको काँध थामेर हौसला दिइरहेको थियो।

भदौ २३ र २४ को त्यो त्रासदी
भदौ २३ र २४ गतेको घटना सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध र भ्रष्टाचार विरुद्ध युवाहरू (जेन-जी) ले गरेको आन्दोलनसँग सम्बन्धित थियो। आन्दोलनले उग्र रूप लिँदा २३ गते १९ जनाको ज्यान गयो। भीड नियन्त्रणका लागि प्रहरीले लाठीचार्ज, अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्दा पनि स्थिति नियन्त्रण बाहिर गएपछि गोली चल्न पुगेको थियो।
प्रहरीले कर्तव्य पालनाका क्रममा गोली चलाउँदा युवाहरूको ज्यान गएपछि नागरिक समाज आक्रोशित बन्यो। बदलाको भावमा २४ गते तीन जना निर्दोष प्रहरीको विभत्स हत्या भयो। नागरिकको सुरक्षामा खटिएका सुरक्षाकर्मीले ज्यान जोगाउन खोला किनारबाट लुक्दै भाग्नुपर्ने र ब्यारेकहरू जलेर नष्ट भएको हृदयविदारक दृश्य सार्वजनिक भए। बर्दी र बुट समेत जलेका अवस्थामा खाली खुट्टा सडकमा उभिएर पुनः ड्युटीमा फर्किएका प्रहरीको मनोबल कस्तो थियो होला? यो निकै गम्भीर प्रश्न हो।
जनताको बुझाइ र बदलिँदो दृष्टिकोण
नेपाली समाजले प्रहरीलाई ‘राज्यको शक्ति’ को रूपमा मात्र बुझ्ने गरेको छ। प्रहरीको सेवालाई कर्तव्य मानिए पनि त्यस पछाडिको व्यक्तिगत त्याग र जीवनको अभावलाई समाजले खासै वास्ता गर्दैन। आईजीपी कार्कीको त्यो भावुकता केवल व्यक्तिगत थिएन, बरु सिङ्गो संगठनका ८० हजार प्रहरीको साझा पीडाको प्रतिबिम्ब थियो।नागरिक सुतिरहेको बेला सुरक्षा कवच बनेर डटिरहने प्रहरीबिनाको समाज कस्तो हुन्छ भन्ने कुरा भदौ २४ को घटनापछि महसुस गरिएको हुनुपर्छ। अन्ततः बर्दीले मानिसको भावना मार्दैन। हिजोको त्यो दृश्यले प्रहरी र नागरिकबीचको भावनात्मक दूरी कम गर्न र प्रहरीलाई ‘मान्छे’ को रूपमा बुझ्न समाजलाई प्रेरित गरेको छ।