काठमाडौँ,जेठ ३१ ।
तारकेश्वर नगरपालिकामा विकास निर्माणका लागि विनियोजित बजेटको श्रेय कसले लिने भन्ने विषयमा स्थानीय, प्रदेश र संघीय तहका जनप्रतिनिधि तथा राजनीतिक दलहरूबीच तीव्र होडबाजी चलेको छ। विकासको स्रोत र योजनाबारे दलहरूले आ-आफ्नो दाबी प्रस्तुत गर्दा सर्वसाधारणमा भने भ्रम सिर्जना भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसद शिशिर खनालले आफ्नो सामाजिक सञ्जालमार्फत तारकेश्वर क्षेत्रमा विनियोजित विभिन्न बजेट र योजनाहरूबारे निरन्तर जानकारी दिँदै त्यसको श्रेय लिएका छन् ।। उता, बागमती प्रदेशका पूर्वाधार विकास मन्त्री ई. अमन कुमार मास्के पनि तारकेश्वरका विभिन्न टोलमा पुगेर योजना माग गरेका छन् । । उनको मन्त्रालयबाट आउने बजेटमा कुन क्षेत्रले प्राथमिकता पाउँछ, त्यो भने हेर्न बाँकी नै छ।
सडक योजनाको श्रेयमा कांग्रेस-रास्वपाबीच विवाद
यो विवाद त्यतिबेला सतहमा आयो जब तारकेश्वर नगरपालिका वडा नं. २ का नेपाली काँग्रेसबाट निर्वाचित वडाध्यक्ष राधाकृष्ण खड्गीले वडाको आधिकारिक सामाजिक सञ्जाल पेजबाट एक सूचना सार्वजनिक गरे । उनले कांग्रेस नेता भीमसेन दास प्रधानको पहलमा सिम्लेश्वर सडक योजनाका लागि ७ करोड बजेट विनियोजन भएको दाबी गरेका थिए ।
उक्त दाबीको लगत्तै रास्वपाका कार्यकर्ताहरूले त्यसको खण्डन गरे। उनीहरूले उक्त बजेट सांसद शिशिर खनालले विनियोजन गरेको प्रमाणसहित प्रस्तुत गर्दै बजेटमा दलीय जस खोजिएकोमा कडा विरोध प्रकट गरे। यस घटनाले बजेटको स्रोतलाई राजनीतिक दलहरूले कसरी आफ्नो स्वार्थअनुकूल व्याख्या गरिरहेका छन् भन्ने स्पष्ट पारेको छ।
स्थानीयको गुनासो: बजेट कार्यकर्ता पोस्न र भोट बटुल्न मात्र
एकातिर विनियोजित बजेटमाथि राजनीतिक दाबी-प्रतिदाबी चलिरहेको छ भने, अर्कोतिर तारकेश्वर नगरपालिकाले भने आगामी आर्थिक वर्षको बजेटका लागि औपचारिक रूपमा योजना माग गर्न समेत सुरु गरेको छैन।
यस्तो राजनीतिक होडबाजीले वास्तविक विकासलाई ओझेलमा पारेको स्थानीयको गुनासो छ। एक स्थानीय अर्जुन कार्कीले भने, "यहाँ बजेट विकासका लागि नभई भोट बटुल्न, आफ्ना कार्यकर्ता पोस्न र गत चुनावमा सहयोग गर्ने पहुँचवालाको आवश्यकता पूरा गर्न विनियोजन हुन्छ। वडा र नगरले जनताको घरदैलोमा पुगेर वास्तविक आवश्यकताका आधारमा योजना छनोट गर्नुपर्ने हो, तर यहाँ केवल चुनावी तामझामका लागि बजेट आउँछ।"
यो अवस्थाले बजेट निर्माण प्रक्रिया जनमुखी नभई नेतामुखी भएको र यसले दिगो विकासमा बाधा पुर्याइरहेको प्रष्ट हुन्छ।