काठमाडौँ,जेठ २९ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को दुम्किवासस्थित विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ। आज बिहानै आएको बाढीले डाइभर्सन बगाएपछि राजमार्गमा यातायात पूर्ण रूपमा ठप्प भएको हो।
जिल्ला प्रहरी कार्यालय, नवलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालका अनुसार, डाइभर्सन बगाएपछि तत्कालका लागि साना तथा यात्रुवाहक सवारीसाधनलाई होङ्सी सिमेन्ट उद्योगको गेट हुँदै सर्दीतर्फको वैकल्पिक बाटो प्रयोग गरी सञ्चालन गरिएको छ। तर, ठूला तथा मालवाहक गाडीहरू भने सडकमै रोकिएका छन्, जसकारण राजमार्गमा सवारीको लामो लाइन लागेको छ।
गत पुस महिनामा भारततर्फबाट आएका ओभरलोड गाडीका कारण पुरानो पुलमा क्षति पुगेपछि उक्त स्थानमा डाइभर्सन निर्माण गरिएको थियो। पुल भाँचिने जोखिम बढेपछि विशेषगरी अधिक भारवहन भएका गाडीहरू सोही डाइभर्सनबाट गुड्दै आएका थिए।
यसैबीच, बुटवल–नारायणगढ सडक विस्तार आयोजनाले नयाँ पुल निर्माणको काम अन्तिम चरणमा पुगेको जनाएको छ। आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार, नयाँ पक्की पुल आगामी दोस्रो सातादेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।