काठमाडौँ । बुद्ध एयरले फ्रान्सको तुलुसबाट अत्याधुनिक एटीआर–७२–६०० सिरिजको नयाँ विमान (कल साइन ९ एन–एओएस) भित्र्याएको छ। यो विमानमा आधुनिक नेभिगेशन प्रणाली, डिजिटल फ्लाइट म्यानेजमेन्ट र उन्नत सुरक्षा प्रणाली जडान गरिएको छ। आवश्यक प्रक्रिया पूरा गरी अर्को महिनादेखि यसले व्यावसायिक उडान सुरु गर्ने कम्पनीले जनाएको छ।
यस विमानको मुख्य विशेषता 'आरएनपी–एआर' एप्रोच प्रणाली हो, जसको सहयोगले काठमाडौं र भैरहवा विमानस्थलमा करिब ९०० मिटरको कम भिजिबिलिटीमा पनि सुरक्षित अवतरण गर्न सकिन्छ। हाल प्रचलित 'आइएलएस' प्रणालीका लागि १६०० मिटर भिजिबिलिटी आवश्यक पर्छ। यो प्रविधिले खराब मौसमका कारण हुने उडान ढिलाइ र अवरोधहरू उल्लेख्य रूपमा घटाउने बुध्द एयरको विश्वास छ।
कम्पनीले आगामी अगष्टको अन्त्यसम्ममा थप एउटा र त्यसपछिका केही महिनाभित्र अरू दुईवटा गरी कुल चारवटा एटीआर–७२–६०० विमान भित्र्याउने योजना बनाएको छ। हाल बुध्द एयरसँग एउटा एटीआर–४२ र १६ वटा एटीआर–७२ गरी कुल १७ वटा विमान रहेका छन्। विमान थपिएसँगै हवाई सेवाको गुणस्तर र विश्वसनीयता अझ बढ्ने अपेक्षा गरिएको छ।