काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री र मन्त्रीहरू नेपाली जनता, राजनीतिक दल र आफ्नो नेतृत्वप्रति पूर्ण रूपमा उत्तरदायी हुनुपर्ने बताएका छन्। आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनाका सम्बन्धमा सबै मन्त्रालयका सचिवहरूसँगको छलफलमा बोल्दै उनले सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणमा 'शून्य सहनशीलता' को नीति लिएको स्पष्ट पारे।
"हामी सबै मन्त्रीहरू नेपाली जनता, हाम्रो पार्टी र नेतृत्वप्रति जवाफदेही छौँ भन्ने कुरामा कडा छौँ," अर्थमन्त्री वाग्लेले भने। उनले कर्मचारीतन्त्रमा रहेका पुराना विकृति र विसङ्गतिहरूलाई त्याग्दै सुधार ल्याउनुपर्नेमा जोड दिए। साथै, कर्मचारीहरूको कार्यक्षमता र सामर्थ्यका आधारमा उनीहरूलाई थप प्रोत्साहित (इन्सेन्टिभाइज) गर्ने सरकारको योजना रहेको समेत उनले जानकारी दिए।
बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन सचिवहरूलाई निर्देशन दिँदै मन्त्री वाग्लेले सुशासनको स्पष्ट सोचका साथ सरकार अघि बढेको र यसमा कुनै पनि प्रकारको सम्झौता नगरिने बताए। उनले राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र दुवैले आ–आफ्नो जिम्मेवारी र नैतिकतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने उल्लेख गरे।