काठमाडौं । अमेरिकाले शनिबार राति इरानका विभिन्न सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको छ। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार करिब १४० सैन्य अड्डालाई निशाना बनाइएको हो ।
सेन्टकमले साइप्रसको झण्डा बोकेको कन्टेनर जहाजमाथि होर्मुज जलडमरूमा भएको आक्रमणको प्रतिक्रियास्वरूप यो कारबाही गरिएको जनाएको छ । उक्त आक्रमणमा जहाजमा आगलागी भएको, इन्जिनमा गम्भीर क्षति पुगेको र चालक दलका एक सदस्य बेपत्ता भएको सेन्टकमको दाबी छ ।
हवाई आक्रमणलगत्तै इरानले यसको प्रतिशोध लिने चेतावनी दिएको छ । इरानले बहराइन, कुवेत, जोर्डन, कतार र ओमानस्थित लक्ष्यहरूमा आक्रमण गरेको दाबी गरेको छ। युएईले पनि इरानी क्षेप्यास्त्र तथा ड्रोन खतरालाई निष्क्रिय पारेको जनाएको छ ।
इरानी सरकारी टेलिभिजन आईआरआईबीका अनुसार इरानी सेनाले कुवेत र बहराइनमा रहेका अमेरिकी सैन्य अड्डामाथि ड्रोन आक्रमण गरेको छ । इरानले कुवेतमा अमेरिकी प्याट्रियट वायु रक्षा प्रणाली, गोलाबारुद डिपो र राडार केन्द्र तथा बहराइनमा अमेरिकी सञ्चार प्रणाली र राडार साइटहरूलाई लक्षित गरिएको दाबी गरेको छ ।
यद्यपि, अमेरिका, कुवेत वा बहराइनले इरानका यी दाबीहरूलाई आधिकारिक रूपमा पुष्टि गरेका छैनन् ।
अमेरिकाले यसअघि इरानविरुद्ध तेस्रो चरणको सैन्य कारबाहीको घोषणा गरेपछि क्षेत्रीय तनाव थप चुलिएको छ । वासिङ्टनले होर्मुज जलडमरूमा साइप्रसको झण्डा बोकेको कन्टेनर जहाजमाथि भएको आक्रमणका लागि इरानलाई जिम्मेवार ठहराएको छ ।