काठमाडौँ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'सम्पत्ति शुद्धिकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेश्रो संशोधन) विधेयक २०८३' प्रस्तुत गरेका छन्। अर्थमन्त्री वाग्लेले सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धान र अभियोजनलाई थप प्रभावकारी बनाउन विद्यमान कानुनमा संशोधन आवश्यक रहेको बताए। यो विधेयक यसअघि जारी गरिएको अध्यादेशको प्रतिस्थापनका रूपमा ल्याइएको हो।
सोही बैठकमा अन्य तीनवटा महत्वपूर्ण विधेयकहरू पनि पेश भएका छन्। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ प्रस्तुत गरे।
यस्तै, प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री सोविता गौतमले ‘सार्वजनिक खरिद (दोश्रो संशोधन) विधेयक २०८३’ सदनमा पेश गरेकी छन्। यी विधेयकहरूले सम्बन्धित क्षेत्रका नीतिगत जटिलता हटाउने र कार्यप्रणालीलाई थप व्यवस्थित बनाउने सरकारको लक्ष्य रहेको छ।