काठमाडौँ।
नेपाल उद्योग परिसंघ (सीएनआई) ले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति मार्फत सुस्त रहेको आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ। परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले गभर्नर डा. विश्वनाथ पौडेललाई भेटेर सुझावपत्र हस्तान्तरण गरेका हुन्।
परिसंघले बाह्य क्षेत्रका सूचकहरू सुदृढ भए पनि आन्तरिक बजारमा मागको कमी र आर्थिक गतिविधि लामो समयदेखि सुस्त रहेको उल्लेख गर्दै लगानीकर्ताको आत्मविश्वास बढाउने नीति आवश्यक रहेकोमा जोड दिएको छ। सीएनआईले मुख्यतया तीन क्षेत्रमा केन्द्रित हुन सुझाव दिएको छ: तत्काल बजार माग बढाएर आर्थिक विस्तार गर्ने, मौद्रिक अभ्यासमा सुधार गर्ने र राष्ट्र बैंकको संरचनागत सुधार गर्ने।
सुझावका मुख्य बुँदाहरूमा निर्देशित कर्जाको सीमा चरणबद्ध रूपमा घटाउने, कार्यशील पूँजी मार्गदर्शनलाई क्षेत्रगत आधारमा लागू गर्ने, स्टार्टअपका लागि विशेष कर्जा सुविधा ल्याउने र कालोसूचीकरणको समयसीमा विस्तार गर्ने विषयहरू रहेका छन्। साथै, राष्ट्र बैंकभित्र अधिकारसम्पन्न मौद्रिक नीति समिति गठन गर्न पनि परिसंघले माग गरेको छ।
सुझाव ग्रहण गर्दै गभर्नर विश्वनाथ पौडेलले आगामी मौद्रिक नीति ब्याजदर व्यवस्थापन र वित्तीय स्थायित्व सुनिश्चित गर्न केन्द्रित हुने बताए। उनले निजी क्षेत्र अर्थतन्त्रको प्रमुख चालक भएको स्वीकार गर्दै लगानी र आर्थिक गतिविधि प्रवर्द्धनका लागि नियामक निकाय र उद्योग क्षेत्रबीचको समन्वय आवश्यक रहेको धारणा व्यक्त गरे। कार्यक्रममा परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्मा लगायतका पदाधिकारीहरूको सहभागिता थियो।