काठमाडौँ ।
चर्चित लोकदोहोरी गायिका विष्णु माझीले लामो समयपछि आफ्नो पारिवारिक ब्यानर 'सपना म्युजिक इन्डस्ट्रिज' बाहिरको गीतमा स्वर दिएकी छिन्। गायक बाबुकृष्ण परियारसँगको सहकार्यमा उनको नयाँ गीत ‘झोर्ले हजुर’ सार्वजनिक भएको हो।
विगत केही वर्षदेखि तीज र दशैँमा मात्र आफ्नै कम्पनीमार्फत गीत ल्याउने गरेकी माझीले यसपटक मगर संस्कृतिमा आधारित फरक विधाको गीत गाएकी हुन्। रमेश बिजीको शब्द र बाबुकृष्णकै संगीत रहेको यस गीतलाई श्यामश्वेत रसाइलीले संगीत संयोजन गरेका हुन्।
मगर भाषाको अभिवादन शब्द ‘झोर्ले’ लाई बिम्ब बनाइएको यस गीतको भिडिओमा गायक बाबुकृष्ण र सुजैन सिंह खड्काको अभिनय तथा नृत्य रहेको छ। मौसम हिमालीको निर्देशनमा तयार भएको भिडिओलाई बुद्ध थापाले छायांकन र अमृत चापागाईंले सम्पादन गरेका हुन्। वर्षभरि गुमनाम रहने विष्णुले तीज आउनुअघि नै बाहिरी गीत ल्याएपछि संगीत क्षेत्रमा यसको विशेष चर्चा सुरु भएको छ।