काठमाडौँ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर संसद्मा कडा आपत्ति जनाएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले सरकार प्रमुखका अभिव्यक्तिहरू तथ्य, प्रमाण र यथार्थमा आधारित हुनुपर्नेमा जोड दिए।
प्रधानमन्त्री शाहले आइतबारको बैठकमा 'नेपालले पनि भारतको जग्गा मिचेको' भनी दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै शाहीले भने, "प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रता भए पनि सरकार प्रमुखको बोली जिम्मेवार हुनुपर्छ। चिया पसलमा गरिने गफ र संसद्मा गरिने सम्बोधनमा फरक हुन्छ।" उनले तथ्याङ्क बिनाका अभिव्यक्ति राजनीतिक भाषण मात्र हुन सक्ने तर राज्य सञ्चालनको आधार बन्न नसक्ने बताए।
सांसद शाहीले नेपाल-भारत सीमा विवादका सम्बन्धमा सरकारसँग के-कस्ता प्रमाण छन्, ती संसद्मा प्रस्तुत गर्न चुनौती दिए। "भावनाले ताली पाउन सकिएला, तर तथ्यले मात्र विश्वास जित्न सक्छ," उनले भने। प्रमाणबिना जनतालाई भ्रमित गर्ने खालका अभिव्यक्ति दिन नहुने भन्दै उनले प्रधानमन्त्रीले संसद्मा बोलेका तथ्यहीन कुराहरू संसद्को रेकर्डबाट हटाउन सभामुखसँग माग गरे।