काठमाडौँ।
प्रहरीले देशका विभिन्न भागमा गरेको नियमित गस्ती र खानतलासीका क्रममा लागूऔषधसहित २६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार काठमाडौँ, मोरङ, बझाङ, सुर्खेत, सर्लाही लगायतका जिल्लाबाट उनीहरूलाई नियन्त्रित औषधि, ब्राउन सुगर र गाँजासहित नियन्त्रणमा लिइएको हो।
काठमाडौँको कालधारा र गोकर्णेश्वरबाट ठूलो परिमाणमा ट्रामाडोल, डाइजेपाम र फेनारगनसहित चार जना पक्राउ परेका छन्। मोरङको बेलबारीमा रोमन राईको घरबाट २ सय ट्याब्लेट ट्रामाडोल र ३ सय ६० ट्याब्लेट डाइक्लोमाइनसहित तीन जनालाई पक्राउ गरिएको छ। यस्तै, सर्लाहीको ईश्वरपुरबाट ५५ किलो गाँजासहित एक जना र बझाङ, सुर्खेत, सल्यान, बर्दिया तथा चितवनबाट ब्राउन सुगर र खैरो हेरोइनसहित अन्य व्यक्तिहरू पक्राउ परेका छन्।
पक्राउ परेकाहरूबाट नगद, डिजिटल तराजु र विभिन्न नियन्त्रित औषधिहरू बरामद गरिएको छ। उनीहरूमाथि सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूले लागूऔषध नियन्त्रण ऐनअनुसार थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाएका छन्।