सर्लाही।
सर्लाहीको रामनगर गाउँपालिका-६ मलघट्टाटोलमा विद्युतीय मोटरमा नुहाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। स्थानीय रामानन्द रायकी ५० वर्षीया श्रीमती मिथलेसिया देवीको शनिबार घटनास्थलमै ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मिथलेसिया देवी आफ्नै घर पछाडि रहेको ट्युबेल कलमा जडान गरिएको विद्युतीय मोटर प्रयोग गरी नुहाइरहेकी थिइन्। सोही क्रममा मोटरमा अचानक करेन्ट प्रवाह हुँदा उनी करेन्टको चपेटामा परेकी हुन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमले घटनाको पुष्टि गर्दै यसबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। प्रहरीले शवको कानुनी प्रक्रिया पूरा गरी घटनाको विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ।