इनरुवा नगरपालिका, जेठ ९ गते ।
सुनसरीको कोशी गाउँपालिका क्षेत्रमा पर्ने कोशीटप्पु वन्यजन्तु आरक्षमा आएको जङ्गली हात्ती गाउँ पसेपछि स्थानीय त्रसित बनेका छन् ।
एक सातायता दैनिक जसो जङ्गली हात्ती गाउँमा देखिन थालेपछि स्थानीय रातभर जाग्राम बस्नुपर्ने अवस्था आएको हो। कोशी गाउँपालिका–३ का वडाध्यक्ष सुलेमान मन्सुरीलका अनुसार कोशी क्षेत्रका नागरिकले दशकौँदेखि अर्ना, हात्ती, बँदेल जस्ता जङ्गली जनावरको आतङ्क खेपिरहनु परेको भए पनि सरकार र सम्बन्धित निकायले समस्या समाधानमा दीर्घकालीन ध्यान दिएको छैन ।
हात्तीको आक्रमणबाट यस क्षेत्रमा वार्षिक १२ देखि १४ जना मानिस घाइते हुने, अङ्गभङ्ग हुने वा ज्यानै गुमाउनु पर्ने स्थिति रहेको स्थानीय पत्रकार पवन रौनियारले बताउनुभयो । आरक्षका प्रमुख संरक्षण अधिकृत भुनेन्द्रकुमार यादवका अनुसार हाल आरक्षभित्र १२ वटा जङ्गली हात्ती घुमफिर गरिरहेका छन्। आरक्षको हात्तीसारमा पालिएका पोथी हात्तीको खोजीमा जङ्गली हात्तीहरू आउने गरेको र पछिल्लो केही महिनादेखि ४-५ वटा हात्ती आरक्षमै अड्डा जमाएर बसेका छन्। ती हात्तीले आरक्षको पर्खाल भत्काउने र सप्तरीतर्फ कोशी पश्चिमका कमलपुर, भागलपुर लगायतका क्षेत्रमा किसानको बाली नष्ट गरिरहेका छन्।
आरक्ष प्रशासनले ट्याक्टर र अन्य घरेलु उपाय प्रयोग गरी हात्ती धपाउने प्रयास गरिरहेको जनाएको छ।