काठमाडौँ
दक्षिण कोरियाको प्रमुख प्रविधि कम्पनी सामसुङ इलेक्ट्रोनिक्समा बोनस वितरणलाई लिएर व्यवस्थापन र श्रमिक संघबीचको विवाद उत्कर्षमा पुगेको छ। बोनसको सीमा हटाउन र सञ्चालन नाफाको १५ प्रतिशत हिस्सा उपलब्ध गराउन माग गर्दै श्रमिक संघले बिहीबारदेखि १८ दिने आम हड्तालको घोषणा गरेको छ।
यस हड्तालमा करिब ५० हजार ५ सय कामदार सहभागी हुने तयारीमा छन्, जसले विश्वव्यापी चिप (अर्धचालक) आपूर्ति शृङ्खलामा गम्भीर असर पार्न सक्ने चिन्ता बढेको छ। सामसुङको नाफा ७५० प्रतिशतले बढे पनि कामदारलाई उचित बोनस नदिएको संघको आरोप छ। सम्भावित आर्थिक संकट टार्न दक्षिण कोरियाली सरकारले श्रममन्त्रीमार्फत मध्यस्थताको अन्तिम प्रयास गरिरहेको छ।
दक्षिण कोरियाको कुल निर्यातको ३५ प्रतिशत हिस्सा ओगट्ने अर्धचालक उद्योगमा हुने यो आन्दोलनले राष्ट्रिय अर्थतन्त्र र विश्व प्रविधि बजारमा ठूलो प्रभाव पार्ने देखिएको छ। व्यवस्थापनले भने श्रमिकका मागहरू अत्यधिक भएको दाबी गर्दै आएको छ।