काठमाडौँ
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज साम्पाङ राईले सरकार र प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नभएको भन्दै गम्भीर आपत्ति जनाएका छन्। बिहीबार जारी प्रेस विज्ञप्तिमार्फत उनले वर्तमान सरकारले संसदीय मर्यादाको उल्लंघन गर्दै जनताको मतबाट बनेको संसद्लाई बेवास्ता गरेको आरोप लगाएका हुन्।
राईले प्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री लगायतका मन्त्रीहरू संसद्मा उपस्थित नभई उठेका प्रश्नको जवाफ नदिनु संसदीय प्रणालीको मर्मविपरीत भएको बताएका छन्। उनले यसलाई प्रतिनिधिसभा सञ्चालन नियमावली–१५(२) को उल्लंघन भएको दाबी गरेका छन्।
उनका अनुसार संसद्मा उपस्थित भएका केही मन्त्रीहरूले पनि सतही जवाफ दिएको र थप प्रश्न उठाउन खोज्दा सभामुखले रोक लगाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले संसद् जनताका आवाज उठाउने र जनहितका कानुन बनाउने थलो भएकाले प्रश्न गर्न नदिनु आपत्तिजनक भएको बताएका छन्।
राईले आफूले गत वैशाख २८ र २९ गते उठाएका प्रश्नको समेत सरकारले जवाफ नदिएको उल्लेख गर्दै यस घटनालाई लोकतन्त्र र संसदीय अभ्यासको इतिहासमा ‘कालोधब्बा’ को संज्ञा दिएका छन्। साथै, प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन नसक्ने सभामुखले प्रतिपक्षी नेताहरूलाई नियम सम्झाइरहनु निन्दनीय र हास्यास्पद भएको टिप्पणी गरेका छन्।
