काठमाडौँ।
आईसीसी क्रिकेट विश्वकप लिग–टु अन्तर्गत कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा अमेरिकाले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ। स्कटल्यान्डले दिएको १७० रनको लक्ष्य अमेरिकाले मात्र २७.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। अमेरिकाको जितमा स्मित पटेल र शायन जहान्गिरले समान ३७ रनको योगदान दिए।
यसअघि टस जितेर ब्याटिङ गरेको स्कटल्यान्ड ४३.३ ओभरमा १६९ रनमा समेटिएको थियो। स्कटल्यान्डका लागि मार्क वाटले सर्वाधिक ६६ रन बनाए भने बलिङतर्फ अमेरिकाका रुशिल उगारकरले ४ विकेट लिए।
यो जितसँगै अमेरिका २७ खेलबाट ३८ अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। समान अङ्क भए पनि स्कटल्यान्ड नेट रन रेटका आधारमा दोस्रो स्थानमा झरेको छ। शृङ्खलाको अन्तिम खेलमा पर्सि (बुधबार) नेपाल र अमेरिकाबीच प्रतिस्पर्धा हुनेछ। हाल नेपाल २२ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा रहेको छ।