काठमाडौँ
युवा, श्रम तथा रोजगार मन्त्रालयले इजरायल र दक्षिण कोरियाको वैदेशिक रोजगारी प्रक्रियाबारे देखिएको अन्योलबारे स्पष्ट पारेको छ। मन्त्रालयले विज्ञप्ति जारी गर्दै लटरी प्रणाली, छनोट प्रक्रिया र ईपीएस सम्बन्धी विषयमा आधिकारिक जानकारी दिएको हो।
मन्त्रालयका अनुसार इजरायलमा दीर्घकालीन स्याहार केन्द्रका लागि हालसम्म २,११२ जना नेपाली श्रमिक छनोट भई धेरैजसो इजरायल पुगिसकेका छन्। तर लटरीमा छनोट नभएका १,१५३ जनालाई तत्काल रोजगारीमा समावेश गर्न इजरायली पक्षले असमर्थता जनाउँदै आगामी नयाँ विज्ञापनमा पुनः आवेदन दिन सुझाव दिएको मन्त्रालयले जनाएको छ।
त्यसैगरी दक्षिण कोरियाको ईपीएस प्रणालीमार्फत जाने परीक्षार्थीहरूले रोष्टर थप तथा समयावधि विस्तारको माग गरे पनि मन्त्रालयले यस विषयमा दक्षिण कोरियाली सरकारसँग कूटनीतिक पहल भइरहेको स्पष्ट पारेको छ। मन्त्रालयले सबै प्रक्रियाहरू द्विपक्षीय सम्झौताअनुसार हुने भएकाले नियमअनुसार अघि बढ्न सरोकारवालालाई आग्रह गरेको छ।
