काठमाडौँ
काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सुकुम्बासी बस्तीमा डोजर चलाइएपछि विस्थापित भएका नागरिकलाई बनेपास्थित नेपाल रेडक्रसको प्रशिक्षण केन्द्रमा राखिएको छ । करिब ११० जना विस्थापितलाई गत वैशाख २४ गते त्यहाँ स्थानान्तरण गरिएको हो ।
होल्डिङ सेन्टरमा बसिरहेका विस्थापितहरूले आधारभूत सुविधा पाए पनि स्थायी बसोबास, रोजगारी, बालबालिकाको शिक्षा र दीर्घकालीन व्यवस्थापनको माग गरेका छन् । उनीहरूले पूर्वसूचना नदिई घर भत्काइएको र सामान निकाल्ने अवसर नपाएको गुनासोसमेत गरेका छन् ।
विस्थापितमध्ये शान्तिनगर र बालाजु क्षेत्रका नागरिकहरू रहेका छन्, जसमा बालबालिका, ज्येष्ठ नागरिक र बिरामी समेत छन् । कतिपयले आफ्नो स्वास्थ्य समस्या र बालबालिकाको शिक्षालाई लिएर चिन्ता व्यक्त गरेका छन् ।
नेपाल रेडक्रसका अनुसार ६० जनाको क्षमताको केन्द्रमा ११० जनाभन्दा बढीलाई राखिएको छ, जसले व्यवस्थापनमा चुनौती थपिएको छ । सम्बन्धित मन्त्रालयको पत्राचारपछि उनीहरूलाई अस्थायी रूपमा राखिएको र थप व्यवस्थापनको प्रयास भइरहेको बताइएको छ ।