काठमाडौँ
बासना थापाले दैलेखमा सञ्चालन भइरहेको पेट्रोलियम उत्खनन परियोजनालाई सरकारले तीव्रगतिमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ । रफत सञ्चार क्लबले आज भक्तपुरमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाँले सुर्खेत–दैलेख सडकमार्गको स्तरोन्नति हुन नसक्दा परियोजनाको काम प्रभावित भइरहेको बताउनुभयो ।
उहाँले उक्त परियोजनाले देशको आर्थिक अवस्था परिवर्तन गर्न सक्ने उल्लेख गर्दै ५० वर्षभन्दा बढी समयसम्म नेपाली उपभोक्तालाई प्रत्यक्ष लाभ पुग्ने सम्भावना रहेको बताउनुभयो । यस्तो महत्वाकाङ्क्षी परियोजनालाई सरकारले प्राथमिकतामा राखेर आवश्यक पूर्वाधार निर्माण र कामको गति बढाउनुपर्ने उहाँको भनाइ थियो ।
प्रमुख सचेतक थापाले सरकारको नीति तथा कार्यक्रममा रहेका सकारात्मक पक्षलाई नेपाली काँग्रेसले समर्थन गर्ने पनि बताउनुभयो । कांग्रेस विभाजनको संघारमा पुगेको भन्ने चर्चा निराधार रहेको उल्लेख गर्दै उहाँले कांग्रेसभित्रको गुट–उपगुट र आन्तरिक मन्थनलाई प्रजातान्त्रिक अभ्यासको स्वाभाविक प्रक्रिया भएको धारणा राख्नुभयो ।