काठमाडौँ : नेपाली काँग्रेसका सचेतक निश्कल राईले वर्तमान सरकारले निजी क्षेत्रमाथि आतंक सिर्जना गरेको आरोप लगाएका छन्।
विनियोजन विधेयक, २०८३ को सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सचेतक राईले सरकारको नीतिगत प्रतिबद्धता र व्यवहारबीच ठूलो खाडल देखिएको टिप्पणी गरे।
राईले सरकारले एकातिर नयाँ चरणको आर्थिक सुधार र निजी क्षेत्रको मनोबल उकास्ने दावी गर्ने तर अर्कातिर प्रतिष्ठित उद्योगी व्यवसायीहरूलाई विनाकारण धरपकड गरेर त्रसित बनाउने काम गरिरहेको बताए।
अर्थमन्त्रीको विज्ञता र अन्तरराष्ट्रिय अनुभवको प्रशंसा गर्दै सचेतक राईले अर्थमन्त्रीका सुधारात्मक योजनाहरू प्रधानमन्त्री कार्यालय र सरकारको गृह प्रशासनका कारण कार्यान्वयन हुन नसकेको आशंका व्यक्त गरे।
सरकार पहिला थुन्ने अनि मात्र सुन्ने नीतिमा अघि बढेको हो? भनी प्रश्न गर्दै उनले सरकारको यस्तो कार्यशैलीले सिङ्गो निजी क्षेत्र ‘डिमोरालाइज’ भएको उल्लेख गरे।
पुँजी पलायन (क्यापिटल फ्लाइट)को जोखिम बढ्दै गएकोप्रति सचेत गराउँदै राईले निजी क्षेत्रलाई समुन्नतिको इन्जिनका रूपमा स्वीकार गर्न सरकारलाई आग्रह गरे।