काठमाडौँ।
नेपाली काँग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाउन आफूले अधिकतम लचकता अपनाएको र असन्तुष्ट पक्षलाई समेट्न निरन्तर प्रयास गरिरहेको बताएका छन्। प्रजातान्त्रिक विचार समाजले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षका नेताहरूको घरघरमै पुगेर संवाद गरिरहेको खुलासा गरे।
नेता पूर्ण बहादुर खड्काले 'पार्टी फुटको डिलमा पुगेको' भनी दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै थापाले आफूले 'निहुरिएर र हात जोडेर' भए पनि सबैलाई सँगै लैजान खोजेको बताए। "मलाई भनिदिनुस्– के गर्दा पार्टी एकताका लागि प्रयास भएको मानिने हो? म त नेताहरूको घरमै पुगेर हात जोडेर बिन्ती गरिरहेको छु," उनले भने। उनले गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी नभएकै आधारमा कसैलाई पनि अवसरबाट वञ्चित नगर्ने प्रतिबद्धता समेत जनाए।
सभापति थापाले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक (कांग्रेस आईडि) अभियानको विरोध गर्ने नेताहरूको पनि आलोचना गरे। सदस्यता अद्यावधिक नगर्न आह्वान गर्नु पार्टीलाई कमजोर बनाउने खेल भएको उनको तर्क थियो। "अद्यावधिक नगर्नु भनेको के हो? अहिले सदस्य रहेकाले म निरन्तर सदस्य हुन चाहन्छु भन्नु र नयाँ पुस्तालाई जोड्नु नै हाम्रो लक्ष्य हो," उनले स्पष्ट पारे।
संस्थापन पक्षले असोजमा हुने १५औँ महाधिवेशनका लागि सदस्यता अद्यावधिक अनिवार्य गरेको छ भने डॉ. शेखर कोईराला र पूर्णबहादुर खड्का पक्षले यसको विरोध गर्दै आएका छन्। सभापति थापाले भने नयाँ विधानअनुसार ३० वर्षमुनिका युवाहरूलाई पार्टीको मूलधारमा ल्याउन यो अभियान आवश्यक रहेको दाबी गरे।