काठमाडौँ
काठमाडौँ महानगरपालिकाले नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा विस्थापित भएका परिवारका बालबालिकाको शिक्षा सुनिश्चित गर्न विशेष पहल सुरु गरेको छ। कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका बालबालिकालाई एसईईसम्म पूर्ण आवासीय छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था मिलाइएको हो।
महानगरपालिका, निजी विद्यालयका छाता सङ्गठन प्याब्सन र एन–प्याब्सन तथा अभिभावकबीच भएको त्रिपक्षीय सम्झौताअनुसार छनोट भएका बालबालिकाको पठनपाठन, आवास र छात्रावासको सम्पूर्ण खर्च सम्बन्धित विद्यालयले व्यहोर्ने भएका छन्।
हाल होल्डिङ सेन्टरमा रहेका करिब ३०० परिवारमध्ये पहिलो चरणमा स्क्रिनिङ गरिएका ५० बालबालिकामध्ये ४१ जनालाई बल्खुस्थित जनविकास माध्यमिक विद्यालयमा भर्ना गरिएको छ। बाँकी २० जना बालबालिकालाई आवासीय सुविधासहित निजी विद्यालयमा अध्ययन गराउने सहमति भएको छ, जसमध्ये १३ जनालाई सम्बन्धित विद्यालयमा पठाइसकिएको छ।
महानगरका शिक्षा अधिकृत केशव ज्ञवालीका अनुसार विस्थापित बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउने उद्देश्यसहित यो कार्यक्रम अघि बढाइएको हो। उनले अभिभावक सहमत भए १० वर्षमुनिका बालबालिकालाई समेत आवासीय छात्रवृत्ति उपलब्ध गराउने तयारी रहेको बताए।
यस अभियानअन्तर्गत महानगरपालिकाले शैक्षिक सामग्री उपलब्ध गराउने, नियमित अनुगमन गर्ने तथा विद्यालय र अभिभावकबीच समन्वय गर्नेछ। प्याब्सन र एन–प्याब्सनले आफ्नो १० प्रतिशत छात्रवृत्ति कोटाअन्तर्गत यस्ता बालबालिकालाई देशभरका सदस्य विद्यालयमा व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन्।
महानगरपालिकाले हाल होल्डिङ सेन्टरमा रहेका विस्थापित परिवारका लागि गाँस, बास र अन्य आधारभूत सुविधाको व्यवस्था पनि गरिरहेको जनाएको छ। यस पहलले विस्थापित बालबालिकाको शिक्षामा निरन्तरता र भविष्य सुरक्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।