काठमाडौँ
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग, श्रम आप्रवासन, शिक्षा तथा तालिमलगायत विषयमा छलफल भएको थियो। उपराष्ट्रपति यादवले नेपाल–इजरायलबीच सन् १९६० देखि कूटनीतिक सम्बन्ध स्थापना भएयता मित्रता, सद्भाव र पारस्परिक सहयोगमा आधारित सम्बन्ध कायम रहेको उल्लेख गरे।
उनले अर्थतन्त्र, व्यापार, पर्यटन तथा लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्ने पर्याप्त सम्भावना रहेको बताउँदै यस्ता अवसरको उपयोगबाट दुवै देशले लाभ लिन सक्ने विश्वास व्यक्त गरे। साथै, नेपाली श्रमिकलाई रोजगारीका अवसर उपलब्ध गराएकोमा इजरायल सरकारप्रति धन्यवाद व्यक्त गर्दै छात्रवृत्ति, व्यावसायिक तालिम र क्षमता अभिवृद्धि कार्यक्रमको निरन्तरताको प्रशंसा गरे।
उपराष्ट्रपति यादवले कृषि प्रविधि, अनुसन्धान, सहकारी विकास, प्रहरी तथा सैनिक तालिमजस्ता क्षेत्रमा इजरायलले पुर्याउँदै आएको सहयोग प्रशंसनीय रहेको बताए। उनले विश्वविद्यालय, अनुसन्धान संस्था र नवप्रवर्तन प्रणालीबीच सहकार्यका थप सम्भावना रहेको पनि उल्लेख गरे।
राजदूत बासले इजरायल नेपाललाई कृषि, माहुरीपालन, माछापालनलगायत क्षेत्रमा सहयोग गर्न इच्छुक रहेको बताए। उनले ‘लर्न एण्ड अर्न’ कार्यक्रममार्फत धेरै नेपालीले सीप हासिल गरिरहेको उल्लेख गर्दै भविष्यमा पनि नेपालीका लागि रोजगारी तथा प्राविधिक सहयोग विस्तार गर्न इजरायल सकारात्मक रहेको जानकारी दिए।