काठमाडौँ
काठमाडौँको कलंकीस्थित शहीद मेमोरियल अस्पतालका स्वास्थ्यकर्मीहरू उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनमा उत्रिएका छन्। शुक्रबारदेखि उनीहरूले आकस्मिक सेवाबाहेकका सबै सेवा बहिष्कार गर्दै धर्ना तथा विरोध कार्यक्रम सुरु गरेका हुन्।
स्वास्थ्यकर्मीहरूको आरोप अनुसार सरकारले निजी अस्पतालका लागि तोकेको ५औँ तहको न्यूनतम पारिश्रमिक ३४ हजार ७ सय ३० रुपैयाँ भए पनि अस्पताल प्रशासनले सो लागू नगरी उनीहरूलाई कम तलबमा काम गराइरहेको छ। हाल आफूहरूले मासिक १९ हजार ३ सय ९६ रुपैयाँ मात्र पाउँदै आएको उनीहरूको भनाइ छ।
उनीहरूले आफूहरू श्रम शोषणमा परेको भन्दै न्यायको माग गरेका छन्। “नर्सलाई उचित पारिश्रमिक देऊ, श्रम शोषण बन्द गर” लगायतका नारा लेखिएका प्लेकार्डसहित उनीहरू अस्पताल परिसरमा धर्नामा बसेका छन्।
स्वास्थ्यकर्मीहरूले सरकारी मापदण्डअनुसार पारिश्रमिक नदिएको विषयमा पटक–पटक उजुरी गर्दा पनि अनुगमन नभएको आरोप लगाएका छन्। तत्काल अनुगमन गरी सरकारको नियमअनुसार तलब सुनिश्चित नगरेसम्म आन्दोलन जारी राख्ने उनीहरूको अडान छ। अस्पतालका करिब ४० जना स्वास्थ्यकर्मी आन्दोलनमा सहभागी छन्।