काठमाडौँ
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेनजी प्रतिनिधिहरूलाई सकारात्मक संवादमा सहभागी हुन आह्वान गरेको छ। आज साँझ ५ बजे तय गरिएको छलफललाई लिएर केही जेनजी समूहले असन्तुष्टि र बहिष्कारको कुरा उठाएपछि कार्यदलले स्पष्टता दिँदै संवादमा आउन आग्रह गरेको हो।
कार्यदलका संयोजक असिम शाहका अनुसार सबै सरोकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिने उद्देश्यका साथ छलफल आयोजना गरिएको हो। उनले अघिल्लो सरकारसँग भएका सहमतिहरू कार्यान्वयनको चरणमै रहेको र जेनजी परिषद् गठनको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको जानकारी दिए।
शाहले संविधान संशोधनसम्बन्धी छलफललाई अन्य राजनीतिक विषयसँग नमिसाउन आग्रह गर्दै यो कार्यक्रम सुझाव संकलनका लागि मात्र भएको स्पष्ट पारे। उनले मौखिक तथा लिखित दुवै रूपमा सुझाव दिने व्यवस्था गरिएको र कुनै पनि आवाजलाई नजरअन्दाज नगरिने बताए।
कार्यदलले हालसम्म संविधानविद्, पूर्वप्रशासक तथा सञ्चार क्षेत्रका विज्ञहरूसँग परामर्श गरिसकेको छ। शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीयता जस्ता विषयमा साझा धारणा बनाउन सबै सरोकारवालाको सहभागिता आवश्यक रहेको कार्यदलको भनाइ छ।