काठमाडौँ
नेपाली बजारमा शुक्रबार सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घटेको हो। महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँ निर्धारण गरेको छ। बिहीबार यही सुन प्रतितोला ३ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ५५ हजार ९१५ रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन १० ग्राम सुनको मूल्य २ लाख ५९ हजार ३४५ रुपैयाँ रहेको थियो। अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला ३५५ रुपैयाँले घटेर ५ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदीको मूल्य प्रतितोला ५ हजार ७४५ रुपैयाँ थियो। यस्तै, १० ग्राम चाँदीको मूल्य ४ हजार ६२१ रुपैयाँ कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारको मूल्य र विनिमय दरलाई आधार मानेर दैनिक रूपमा नेपाली बजारका लागि सुन तथा चाँदीको मूल्य निर्धारण गर्दै आएको छ।