काठमाडौँ
शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनोट प्रक्रिया अघि बढाइएको छ। यसका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरिएको विश्वविद्यालयले जनाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बुधबार बसेको विश्वविद्यालय सभा (सिनेट) बैठकले प्राडा जयराज अवस्थीको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा प्राडा लोचना श्रेष्ठ र प्राडा दिनेश लम्साल सदस्य रहेका छन्।
विश्वविद्यालयका अनुसार उक्त समिति शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालय ऐन–२०८२ अनुसार गठन गरिएको हो। समिति उपकुलपति र रजिस्ट्रार पदका लागि योग्य व्यक्तिको छनोट तथा सिफारिस प्रक्रियामा संलग्न हुनेछ।
बैठकले विभिन्न क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्दै ६ जना विश्वविद्यालय सभा सदस्य (सिनेटर) पनि मनोनयन गरेको छ। विज्ञान तथा प्रविधि, शिक्षा, कानुन, व्यवस्थापन, मानवशास्त्र तथा समाजशास्त्र क्षेत्रका विशिष्ट व्यक्तित्वलाई सिनेटमा समावेश गरिएको जनाइएको छ। मनोनयनमा दुई महिलाको समेत सहभागिता सुनिश्चित गरिएको विश्वविद्यालयले जनाएको छ।
यसैबीच, बैठकले यसअघि विश्वविद्यालय सभामा रहेर योगदान पुर्याएका सबै सिनेटरप्रति धन्यवाद ज्ञापन गरेको छ।