काठमाडौँ : प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले सडक दुर्घटना न्यूनीकरणका लागि ‘सडक सुरक्षा विधेयक’ संसद्को चालु अधिवेशनभित्रै पेश गर्न सरकारलाई निर्देशन दिएको छ।
समितिको मंगलवारको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो। बैठकका निर्णयहरू सार्वजनिक गर्दै समितिका सभापति आशिष गजुरेलले सडक सुरक्षाका विषयमा गम्भीर बन्नुपर्ने अवस्था आएको बताए। समितिले देशभरका राष्ट्रिय राजमार्ग लगायतका सम्पूर्ण सडकलाई मनसुनको समयमा पनि सुरक्षित र सहज रूपमा सञ्चालन गर्न तत्काल मर्मत सम्भारको व्यवस्था मिलाउन समेत मन्त्रालयलाई सचेत गराएको छ।
बैठकले राष्ट्रिय गौरवका आयोजनाको वर्तमान अवस्था, समस्या र समाधानका उपायबारे अध्ययन गर्न गठित उपसमितिको म्याद थप गर्ने निर्णय गरेको छ। श्रीराम न्यौपानेको संयोजकत्वमा गठित उक्त उपसमितिको आग्रह बमोजिम थप सात दिनको समय उपलब्ध गराउने प्रस्तावलाई बैठकले अनुमोदन गरेको हो।
त्यसैगरी समितिको आन्तरिक कार्यविधि, कार्ययोजना र कार्यतालिकाको मस्यौदा तयार पार्न माननीय राजेन्द्रकुमार राईको संयोजकत्वमा गठित तीन सदस्यीय उपसमितिले पेश गरेको ‘आन्तरिक कार्यविधि २०८३’ लाई आवश्यक परिमार्जनसहित पारित गरिएको छ।
सभापति गजुरेलले सडक सुरक्षा र यातायातको विषय नागरिकको दैनिक जीवन र सुरक्षासँग प्रत्यक्ष जोडिएको उल्लेख गरे।
छलफलका क्रममा सांसदहरूले राखेका सुझाव र अन्ताराष्ट्रिय अभ्यासलाई समेटेर विधेयकलाई थप परिष्कृत बनाइने र नागरिकको यात्रा सुरक्षित बनाउन समिति प्रतिबद्ध रहेको सभापति गजुरेलले बताए।