-तपेन्द्र ऐडी
काठमाडौँ। मुगुको मुगुम कार्मारोंग गाउँपालिका–९ पाँपु गाउँमा शनिबार परेको चट्याङ्ग र भीषण असिना पानीले ठुलो धनमालको क्षति पुर्याएको छ। लेकमा चराउन लगिएका स्थानीय भक्त बहादुर बढुवालका २४ वटा भेडा चट्याङ्ग लागेर मरेका छन् भने ६ वटा अझै बेपत्ता छन्।
यसैगरी, चट्याङ्गसँगै परेको भीषण असिनाले पाँपु गाउँका ९९ घरधुरीले भित्र्याउन ठिक्क पारेको जौ, गहुँ, उवा र आलु बाली सखाप पारेको छ। जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी रविराज थपलियाका अनुसार वर्षभरिको मेहनत असिनाले नष्ट गरेपछि गाउँमा खाद्य संकटको जोखिम बढेको छ।
प्रकृतिले जीविकोपार्जनको स्रोत खोसेपछि मर्माहत बनेका स्थानीय किसानहरूले सरकारसँग तत्काल राहत र क्षतिपूर्तिको माग गरेका छन्। प्रहरीले घटनाको थप विवरण संकलन र क्षतिको यकिन मूल्यांकन भइरहेको जनाएको छ।
