काठमाडौँ
राष्ट्रिय जनमोर्चाले हालै गरिएको प्रधानन्यायाधीशको नियुक्तिप्रति आपत्ति जनाएको छ। पार्टीले उक्त नियुक्ति सरकारको नियन्त्रणमा न्यायपालिका ल्याउने उद्देश्यले गरिएको दाबी गरेको छ।
शनिबार बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकले नवनियुक्त प्रधानन्यायाधीश सो पदका लागि उपयुक्त पात्र नभएको निष्कर्ष निकालेको छ। पार्टी अध्यक्ष चित्रबहादुर केसीद्वारा जारी प्रेस वक्तव्यमा उनको विगतका फैसलाका कारण सरकारलाई आर्थिक नोक्सानी पुगेको उल्लेख गर्दै न्यायिक दृष्टिकोणमाथि प्रश्न उठाइएको छ।
राष्ट्रिय जनमोर्चाले सर्वोच्च अदालतमा लामो समयदेखि कायम रहेको रोलक्रम मिचेर नियुक्ति गरिएको भन्दै पनि आपत्ति जनाएको छ। सरकारको स्वार्थअनुसार न्यायपालिका सञ्चालन गर्ने प्रयास भएको आरोप पार्टीले लगाएको छ।
पार्टीका अनुसार यस कदमले सर्वोच्च अदालतको स्वतन्त्रता र निष्पक्षतामा असर पार्ने तथा लोकतान्त्रिक मूल्य–मान्यतामा गम्भीर धक्का पुग्नेछ। साथै, न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप रोक्नुपर्नेमा पार्टीले जोड दिएको छ।