काठमाडौँ।
काठमाडौँमा ज्येष्ठ नागरिकको अवस्था, विद्यमान चुनौती र अन्तर–पुस्ता ज्ञान हस्तान्तरणका विषयमा केन्द्रित दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित यस सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका हुन्।
सम्मेलनलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता ईश्वर पोखरेलले ज्येष्ठ नागरिकहरूलाई केवल सामाजिक सुरक्षा र सम्मानको घेरामा मात्र सीमित नराखी उनीहरूलाई ज्ञान र अनुभवको महत्त्वपूर्ण स्रोतका रूपमा स्वीकार गर्नुपर्ने बताए। उनले ज्येष्ठ नागरिकको अनुभवलाई राज्य सञ्चालन, समाज रूपान्तरण र पारिवारिक समृद्धिमा सदुपयोग गर्नुपर्ने धारणा व्यक्त गरे।
नेपालमा सामाजिक सुरक्षा कार्यक्रमको सुरुवात गर्ने प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको योगदानको स्मरण गर्दै पोखरेलले प्रतिष्ठानले ज्येष्ठ नागरिकको सम्मान र युवाहरूको प्राविधिक शिक्षाका लागि गरिरहेका कार्यहरूबारे जानकारी दिए। उनले अधिकारीले बसाल्नुभएको ज्येष्ठ नागरिक सम्मानको जगलाई अब थप परिष्कृत गर्दै उनीहरूको अनुभवलाई देशको विकास अभियानमा जोड्नुपर्नेमा जोड दिए।