काठमाडौँ
सरकारले सिफारिस गरेका सबै अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार संसदीय गतिविधितर्फ केन्द्रित भएको छ। अध्यादेशमार्फत आवश्यक कानुनहरू अघि बढाइसकेपछि अब सरकार संसद अधिवेशन आह्वान गर्ने तयारीमा जुटेको हो।
मंगलबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते संसद अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ। उक्त बैठकमा मुख्य एजेन्डा नै संघीय संसद्को अधिवेशन बोलाउने सिफारिस गर्ने रहेको थियो।
सरकारले यसअघि विभिन्न ८ वटा अध्यादेश सिफारिस गरेको थियो, जसमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण, सहकारी तथा विश्वविद्यालयसम्बन्धी संशोधनलगायतका अध्यादेशहरू रहेका छन्। ती सबै अध्यादेश राष्ट्रपतिबाट जारी भइसकेका छन्।
अध्यादेशमार्फत तत्कालीन कानुनी आवश्यकताहरू पूरा गरेपछि अब सरकारले बजेट अधिवेशनलाई लक्षित गर्दै संसदलाई सक्रिय बनाउन लागेको हो। सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका अनुसार संसद अधिवेशन वैशाख २८ गते दिउँसो २ बजेका लागि आह्वान गर्न सिफारिस गरिएको छ।