काठमाडौँ
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा सर्वोच्च अदालतको आदेशपछि रिहा भएको केही समयमै फेरि पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई सोमबार बीमासम्बन्धी कसुरमा अनुसन्धान गर्न भन्दै नियन्त्रणमा लिएको हो ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले धितोपत्रसम्बन्धी कसुरमा उनलाई थुनामा राख्ने प्रक्रिया कानुनसम्मत नभएको भन्दै तत्काल रिहा गर्न आदेश दिएको थियो । तर अदालतको आदेशपछि पनि उनी फेरि पक्राउ परेपछि निजी क्षेत्रभित्र चासो बढेको छ ।
सीआईबीका अनुसार गोल्छालाई धितोपत्रसम्बन्धी कसुरमा मात्र नभई बीमासम्बन्धी अलग अनुसन्धानका आधारमा पक्राउ गरिएको हो । प्रहरीका अनुसार दुवै कसुरमा छुट्टाछुट्टै अनुसन्धान चलिरहेको र बीमासम्बन्धी मुद्दामा अदालतको आदेश नआएकाले नियन्त्रणमा राखिएको हो ।
प्रारम्भिक अनुसन्धानमा हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर कारोबारमा अनियमितता, इन्साइडर ट्रेडिङ र कानुनविपरीत उधारो कारोबार भएको देखिएको दाबी गरिएको छ । उक्त प्रकरणमा करिब २ अर्ब ७३ करोड रुपैयाँ दुरुपयोग भएको आशंका गरिएको छ ।
सीआईबीले गोल्छा सो कम्पनीको सञ्चालक समितिका अध्यक्ष रहेको भन्दै अनुसन्धान आवश्यक रहेको जनाएको छ । बीमा क्षेत्रको रकम दुरुपयोग धितोपत्र ऐनअन्तर्गत नपर्ने भएकाले अलग कानुनी प्रक्रियाअनुसार अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् ।
बीमा ऐन २०७९ अनुसार यस्तो कसुरमा फौजदारी संहिता बमोजिम अनुसन्धान गर्न सकिने व्यवस्था रहेकाले सीआईबीले उनलाई पुनः नियन्त्रणमा लिएको हो । घटनाले निजी क्षेत्र र कानुनी प्रक्रियाबीचको समन्वयबारे बहस पनि सुरु गरेको छ ।