हर्क साम्पाङको सरकारलाई चेतावनी: “काम गर्न नसके मार्ग प्रशस्त गर”

Author

सजिलो पत्रिका

२०८३ वैशाख २२, मङ्गलबार

20
Share
Featured
  • हर्क साम्पाङ ले खुला पत्रमार्फत सरकारको कार्यशैली, सीमा सुरक्षा र अर्थतन्त्रबारे कडा आलोचना गरेका छन्।
  • लिपुलेक मुद्दामा चतुर्पक्षीय वार्ता गर्न र सेनालाई सीमामा खटाउनुपर्ने माग गरेका छन्।
  • सुकुमबासी व्यवस्थापन, विदेशी ऋण नियन्त्रण र जनमुखी बजेट ल्याउन सरकारलाई आग्रह गर्दै काम गर्न नसके राजीनामा दिनुपर्ने बताएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रतिनिधिसभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै खुला पत्र सार्वजनिक गरेका छन्। “संसद छलेर चल्ने सरकार” भन्दै सम्बोधन गरिएको उक्त पत्रमा उनले सीमा सुरक्षा, सुकुमबासी समस्या र देशको अर्थतन्त्रजस्ता संवेदनशील विषयमा गम्भीर प्रश्न उठाएका छन्।

पत्रमा उनले नेपालको लिपुलेक क्षेत्र हुँदै भारतले कैलाश–मानसरोवर जाने बाटो निर्माण गरिरहेको अवस्थामा सरकार मौन बसेको आरोप लगाएका छन्। केवल कूटनीतिक नोट पठाएर समस्या समाधान नहुने भन्दै नेपाल, भारत, चीन र संयुक्त राष्ट्र संघ सम्मिलित चतुर्पक्षीय वार्तामार्फत सीमा संरक्षण गर्नुपर्ने उनको माग छ।

साम्पाङले नेपाली सेनाको भूमिकामाथि पनि प्रश्न उठाएका छन्। सेनालाई मन्त्रीहरूको व्यक्तिगत काममा प्रयोग गरिएको आरोप लगाउँदै उनले सीमा क्षेत्रमा सेना नखटाउँदा नै अतिक्रमण भएको दाबी गरेका छन्। उनले सीमा सुरक्षाका लागि सेनालाई सिमानामै परिचालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

सुकुमबासी बस्ती हटाउन प्रयोग भइरहेको डोजरप्रति आपत्ति जनाउँदै उनले सरकारले प्राथमिकता गलत राखेको टिप्पणी गरेका छन्। रोशी खोला लगायतका क्षेत्रमा बाढीका कारण अवरुद्ध सडक खुलाउने र विपद् व्यवस्थापनमा ती स्रोत परिचालन गर्नुपर्ने उनको सुझाव छ।

त्यस्तै, विदेशी ऋणको बढ्दो भारप्रति चिन्ता व्यक्त गर्दै उनले अनावश्यक ऋण लिएर देशलाई आर्थिक संकटतर्फ धकेल्ने काम रोक्न आग्रह गरेका छन्। राज्य सञ्चालन सन्तुलित रूपमा गर्न नसक्ने हो भने सरकारका जिम्मेवार व्यक्तिहरूले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने उनले उल्लेख गरेका छन्।

साथै, आगामी बजेट निर्माण गर्दा सबै वर्गका जनताको समस्या समेट्नुपर्ने र सरकारका कामकारबाहीबारे नियमित रूपमा पत्रकार सम्मेलनमार्फत जानकारी गराउनुपर्ने उनको माग छ।


यो समाचारमा

श्रम संस्कृति पार्टीहर्कराज साम्पाङ राईकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    Data is loading...

    Loading brands...

    Loading footer...