काठमाडौँ
नेपाल रेडक्रस सोसाइटीले संगठनका विभिन्न तहका निर्वाचनमार्फत नेतृत्वदायी भूमिकामा युवा र महिलाको सहभागिता बढाउने उद्देश्यसहित विशेष पहल गरेको छ। सोसाइटीले पालिकादेखि केन्द्रीय तहसम्म हुने निर्वाचनमा महिला र युवालाई सक्रिय रूपमा उम्मेदवारी दिन प्रोत्साहन गरेको हो।
यसअनुसार अध्यक्ष, सभापति, महामन्त्री, महासचिवलगायत प्रमुख पदहरूमा महिलाको तथा १८ देखि ३० वर्ष उमेर समूहका युवाको सार्थक उपस्थिति सुनिश्चित गर्न जोड दिइएको छ। सोसाइटीले महिला र युवालाई नेतृत्वमा ल्याउने उद्देश्यले उम्मेदवारी मनोनयन दर्ता निःशुल्क गर्ने व्यवस्था गरेको छ।
रेडक्रसको विधान २०२० (अठारौँ संशोधन २०८२ सहित) अनुसार संस्थामा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरिएको छ। साथै, केन्द्रीय, प्रदेश, जिल्ला र पालिका तहमा युवा रेडक्रस समितिहरू गठन गर्ने व्यवस्था पनि गरिएको छ।
विधानअनुसार केन्द्रीय समितिमा २१ सदस्य रहने व्यवस्था छ, जसमा एक जना महिला उपाध्यक्ष र पाँच जना महिला सदस्य रहनेछन्। प्रदेश समितिमा १५ सदस्य रहने व्यवस्था गरिएको छ, जसमा महिला उपाध्यक्षसहित महिला र युवा प्रतिनिधित्व सुनिश्चित गरिएको छ। यस्तै, जिल्ला र पालिका तहका समितिहरूमा पनि महिला उपसभापति तथा महिला सदस्यहरूको अनिवार्य व्यवस्था गरिएको छ।
सोसाइटीले देशभर विभिन्न तहका निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ। जसअनुसार पालिका शाखा समितिको निर्वाचन वैशाख २६ देखि जेठ ४ गतेसम्म, जिल्ला शाखा समितिको जेठ १५ गते, प्रदेश समितिको असार २ गते तथा केन्द्रीय समितिको निर्वाचन असार २४ र २५ गते सम्पन्न हुने जनाइएको छ।