काठमाडौँ
चीनले मानवजस्तै देखिने र काम गर्न सक्ने ‘ह्युमनोइड’ रोबोट विकासलाई तीव्र बनाउँदै ‘मानवरूपी रोबोट’ को फौज तयार पारिरहेको छ। हालैको ‘लुनार न्यु इयर गाला’ मा रोबोटहरूले कार्टह्विल, पार्कोर र मार्सल आर्टका जटिल कलाबाजी प्रदर्शन गरेपछि यो प्रविधिले विश्वभर ध्यान खिचेको छ।
चीनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) दैनिक जीवनको हिस्सा बनिसकेको छ भने अहिले रोबोटिक्सलाई रणनीतिक प्राथमिकता दिइएको छ। ‘इम्बडिड इन्टेलिजेन्स’ नामक प्रविधिमार्फत एआईलाई भौतिक रोबोटसँग जोडेर उनीहरूलाई वातावरण बुझ्न, सिक्न र स्वतः निर्णय गर्न सक्ने बनाउने प्रयास भइरहेको छ।
यस प्रविधिको लक्ष्य कारखाना, घरेलु काम, उद्धार, सुरक्षा, कृषि र वृद्ध हेरचाहजस्ता क्षेत्रमा मानवसरह काम गर्न सक्ने रोबोट तयार गर्नु हो। हाङ्जाउलाई यस अभियानको प्रमुख केन्द्र बनाइएको छ, जहाँ रोबोटिक्स अनुसन्धान र विकास तीव्र रूपमा अघि बढाइएको छ।
चीनले यसका लागि ठूलो लगानी गर्दै करिब १४० कम्पनीलाई ह्युमनोइड रोबोट विकासमा प्रतिस्पर्धामा उतारेको छ। विज्ञहरूका अनुसार यो प्रविधिले भविष्यमा श्रम बजार र मानव–मेसिन सहकार्यको स्वरूप नै परिवर्तन गर्ने संकेत देखिएको छ।