काठमाडौँ
नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गर्दै पेट्रोल र डिजेल–मट्टितेलको मूल्य घटाएको छ भने खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य बढाएको छ। निगमले जारी गरेको सूचनाअनुसार नयाँ मूल्य शुक्रबार बिहानदेखि लागू भएको हो।
समायोजनअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेल–मट्टितेलमा प्रतिलिटर १२ रुपैयाँले कमी गरिएको छ। यससँगै पहिलो वर्गका क्षेत्रमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर २१४ रुपैयाँ ५० पैसा र डिजेल–मट्टितेलको मूल्य २२२ रुपैयाँ ५० पैसा कायम भएको छ।
यता, हवाई इन्धन र एलपी ग्यासको मूल्य भने वृद्धि गरिएको छ। हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर ७ रुपैयाँले वृद्धि गरिएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँमा प्रति किलोलिटर ४६ अमेरिकी डलरले बढाइएको छ। त्यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिन्डर १५० रुपैयाँले बढाएर २१६० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।
