काठमाडौँ
नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धका आदर्शहरूलाई व्यवहारमा लागू गर्नु आजको प्रमुख आवश्यकता भएको बताएका छन्। बुद्धजयन्तीको अवसरमा जारी शुभकामना सन्देशमा उनले शान्ति, अहिंसा, करुणा र मध्यम मार्गका सिद्धान्तहरू आजको विश्व र नेपालको सन्दर्भमा अत्यन्त सान्दर्भिक रहेको उल्लेख गरेका छन्।
उनका अनुसार सामाजिक न्याय, सांस्कृतिक विविधताको सम्मान, समानता र सहअस्तित्वमा आधारित समाज निर्माण नगरी समृद्ध र शान्त नेपाल सम्भव छैन। विभेद, असमानता र अन्याय कायम रहँदासम्म स्थायित्व र समृद्धि दुवै हासिल हुन नसक्ने उनले स्पष्ट पारे।
प्रचण्डले बुद्धका शिक्षालाई केवल श्रद्धा र औपचारिकतामा सीमित नराखी व्यवहारमा उतार्नुपर्नेमा जोड दिएका छन्। यस्ता मूल्यहरूको अभ्यासबाट मात्र समतामूलक, शान्त र समुन्नत समाज निर्माण गर्न सकिने उनको भनाइ छ।