काठमाडौँ
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्रका नदी किनारमा रहेका अनधिकृत तथा जोखिमपूर्ण बस्तीहरू तत्काल खाली गर्न निर्देशन दिएको छ। प्रशासनले बुधबार सूचना जारी गर्दै मानव जीवनको सुरक्षा र विपद् जोखिम न्यूनीकरणलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको जनाएको हो।
सूचनाअनुसार, सरकारी, पर्ती तथा निजी जग्गा अतिक्रमण गरेर वर्षौंदेखि बसोबास गर्दै आएका बस्तीहरू वैशाख १८ गतेदेखि अभियान सञ्चालन गरी खाली गराइनेछ। प्रशासनले बस्ती खाली गर्ने क्रममा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
बिरामी, अशक्त, वृद्धवृद्धा, गर्भवती, सुत्केरी महिला तथा साना बालबालिकालाई प्राथमिकताका साथ सुरक्षित स्थानमा सार्न भनिएको छ। यस कार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी परिचालन गरिनेछ भने एम्बुलेन्स सेवा पनि तयारी अवस्थामा राखिने जनाइएको छ।
प्रशासनले बासिन्दालाई आफ्ना व्यक्तिगत सामान, लत्ताकपडा तथा चौपाया सुरक्षित रूपमा बाहिर निकाल्न र आवश्यक परे सुरक्षाकर्मीको सहयोग लिन अनुरोध गरेको छ।
वास्तविक भूमिहीन व्यक्तिहरूलाई सरकारले अस्थायी आश्रयको व्यवस्था गर्ने र दीर्घकालीन समाधानका लागि पहल गरिने आश्वासन दिएको छ। तर नक्कली भूमिहीनको नाममा बसोबास गर्ने व्यक्तिहरूलाई कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ।
प्रशासनले नागरिकको जिउ–ज्यानको सुरक्षा, संविधानप्रदत्त अधिकारको संरक्षण तथा बालबालिकाको शिक्षाको व्यवस्था सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, सूचनालाई अटेर गरी बसेमा हुने कुनै पनि क्षतिको जिम्मेवारी सम्बन्धित व्यक्ति स्वयंले लिनुपर्ने उल्लेख गरिएको छ।
यसअघि पनि सरकारले काठमाडौँका विभिन्न तीन स्थानका नदी किनारका बस्तीहरू खाली गराइसकेको जनाएको छ।