काठमाडौँ
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा विरुद्ध दायर दुई वटा भ्रष्टाचार मुद्दामा आज विशेष अदालत मा सुनुवाइ हुँदैछ। गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन तथा राजस्व चुहावटसम्बन्धी दुवै मुद्दा सुनुवाइका लागि पेसी तोकिएको हो।
मुद्दाको सुनुवाइ न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइराला को इजलासमा हुने भएको छ। यसअघि पनि सोही विषयमा विशेष अदालतबाट फैसला भइसकेको भए पनि सर्वोच्च अदालतको आदेशपछि मुद्दा पुनः सुनुवाइका लागि फर्काइएको हो।
यसअघि कर फर्छ्यौट आयोगमार्फत बक्यौता कर छुट दिँदा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो। आयोगले करदातालाई कर छुट दिने क्रममा १० अर्ब २ करोड रुपैयाँभन्दा बढी रकममा अनियमितता भएको दाबी गरेको थियो। सो मुद्दामा शर्मासहित आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालसमेत प्रतिवादी थिए।
विशेष अदालतले यसअघि दोषी ठहर गरेपछि उनीहरू सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्च अदालतले भने विशेष अदालतको फैसला त्रुटिपूर्ण भएको ठहर गर्दै पुनः सुनुवाइ गर्न आदेश दिएको थियो। त्यसपछि मुद्दा फेरि विशेष अदालतमा फर्किएको हो।
त्यस्तै, शर्माविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अर्को मुद्दा पनि दायर छ। अख्तियारको दाबीअनुसार उनले सरकारी सेवामा रहँदा आफ्नो वैध आयभन्दा धेरै सम्पत्ति आर्जन गरेको देखिएको छ। उक्त मुद्दामा उनकी पत्नी कल्पना उप्रेती शर्मालाई समेत प्रतिवादी बनाइएको छ।