काठमाडौँ
खानी तथा भूगर्भ विभागले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिका–५ स्थित धौवादी क्षेत्रमा करिब १० करोड मेट्रिकटन फलामको कच्चा पदार्थ (धाउ) रहेको प्रारम्भिक अनुमान गरेको छ।
विभागका विज्ञहरूको अध्ययनअनुसार नाम्जाकोटदेखि धौवादीसम्म करिब १० किलोमिटर क्षेत्रमा फलामयुक्त ‘विलेड’ भेटिएको छ। सोही आधारमा व्यावसायिक उत्पादनका लागि ‘धौवादी फलाम कम्पनी लिमिटेड’ स्थापना गरी थप अनुसन्धान अघि बढाइएको छ।
कम्पनीका अनुसार करिब ४१ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको खानीबाट दैनिक १,५०० टनसम्म फलाम उत्पादन गर्न सकिने र ६० वर्षसम्म सञ्चालन गर्न मिल्ने सम्भावना छ। यसले वार्षिक करिब ५ लाख टन उत्पादन गर्दै देशको फलाम आयातको करिब २५ प्रतिशत प्रतिस्थापन गर्न सक्ने अनुमान गरिएको छ।
हाल खानीको वातावरणीय प्रभाव मूल्याङ्कन भइरहेको र विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गर्ने काम पनि अघि बढाइने कम्पनीले जनाएको छ। खानी सञ्चालनका लागि सडक तथा पूर्वाधार सुधार भइरहेको छ।
सरकारी अधिकारीहरूले यो परियोजनाले स्टिल उद्योग विकास, रोजगारी सिर्जना र स्वदेशी पुँजी परिचालनमार्फत आर्थिक समृद्धिमा योगदान पुर्याउने अपेक्षा गरेका छन्।