काठमाडौँ
थापाथलीस्थित सुकुम्बासी बस्ती क्षेत्रमा प्रहरीले उच्च क्षमतायुक्त सिसिटिभी क्यामरा जडान गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयअन्तर्गतको सिसिटिभी युनिटले शुक्रबार बिहान ३६० डिग्री दृश्य कभरेज दिने क्यामरा पोलमार्फत जडान गरेको हो।
सरकारले सुकुम्बासी बस्ती व्यवस्थापन तथा हटाउने तयारी गरिरहेका बेला गरिएको यो जडानले यसको उद्देश्य र समयसापेक्षताबारे चासो बढाएको छ। यद्यपि प्रहरीका अनुसार यो कुनै विशेष अपरेशनका लागि नभई नियमित निगरानी प्रणाली विस्तारअन्तर्गत गरिएको हो।
प्रहरीले अन्य स्थानमा पनि क्रमशः सिसिटिभी क्यामरा जडान गर्दै लैजाने जनाएको छ। घटनास्थलमा कम्तीमा चारवटा ठूला क्यामरा ल्याइएको देखिएको थियो, जसले निगरानी क्षमता विस्तार भएको संकेत गर्छ।
प्रहरीका अनुसार यस्ता क्यामराले सम्भावित झडप, विवाद वा अप्रिय घटनाको अवस्थामा प्रमाण संकलन र अनुसन्धानमा सहयोग पुग्नेछ। साथै, शहरी सुरक्षा सुदृढीकरण र सार्वजनिक निगरानी प्रणालीलाई प्रविधिमैत्री बनाउने दीर्घकालीन योजनाअन्तर्गत यो कदम लिइएको बताइएको छ।