काठमाडौँ
गृहमन्त्री सुदन गुरुङले मंगलबार सिंहदरवारमा गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की लगायत उच्च सुरक्षा अधिकारीहरूसँग करिब ५ घण्टा लामो छलफल गरेका छन्। साँझ ६ बजे सुरु भएको बैठक राति ११ बजेसम्म चलेको थियो।
छलफलमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालसमेत सहभागी थिए। प्रारम्भिक चरणमा गृह मन्त्रालयका सचिव राति ९ बजे बैठकबाट बाहिरिएका थिए भने आईजीपी कार्कीसहित अन्य अधिकारीहरू झन्डै ११ बजेसम्म बैठकमा सहभागी रहेका थिए।
बैठकमा माइतीघर मण्डलामा आमरण अनसनरत सोभा पाठकको मुद्दालाई मुख्य रूपमा उठाइएको थियो। आफूलाई बलात्कार गर्ने व्यक्तिलाई पक्राउ गरी मुद्दा अदालतसम्म लैजानुपर्ने माग गर्दै पाठक वैशाख ३ देखि अनसनमा बसेकी छन्। मन्त्री गुरुङले केही दिनअघि उनलाई भेटेर सान्त्वना दिएका थिए। हाल स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको छ।
त्यस्तै, व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसहितसँग जोडिएको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाबारे पनि छलफल भएको जनाइएको छ। अनुसन्धान प्रक्रियालाई कसरी प्रभावकारी बनाउने र सम्बन्धित व्यक्तिहरूलाई अनुसन्धानको दायरामा ल्याउने विषयमा मन्त्रीले चासो व्यक्त गरेका थिए।
छलफलमा गृह मन्त्रालय र सुरक्षा निकायको बजेट व्यवस्थापन, सुशासन र सेवा प्रवाह सुधारका विषयहरू पनि समेटिएका थिए। साथै, काठमाडौँ उपत्यका सहित देशभर ट्राफिक व्यवस्थापन सुधार र सडक दुर्घटना न्यूनीकरणका उपायबारे पनि छलफल भएको सुरक्षा अधिकारीहरूले बताएका छन्।