काठमाडौँ
समाज कल्याण परिषद्ले भृकुटीमण्डप क्षेत्रमा रहेका भाडा नतिर्ने संघसंस्था तथा व्यवसायीहरूलाई बक्यौता बुझाउन अन्तिम सात दिनको म्याद दिएको छ। परिषद्ले बुधबार एक सूचना जारी गर्दै रिपोर्टर्स क्लबसहित १८ वटा संघसंस्थालाई उक्त निर्देशन दिएको हो।
परिषद्का अनुसार भृकुटीमण्डपभित्र रहेका पक्की स्टल, भवन तथा संरचनाहरू भाडामा लिएर लामो समयदेखि भाडा नतिर्नेहरूलाई यसअघि पटक–पटक पत्राचार र सार्वजनिक सूचनामार्फत बक्यौता चुक्ता गर्न आग्रह गरिएको थियो। तर अटेर भएपछि गत चैत ३० गते केही संरचनामा तालाबन्दी समेत गरिएको परिषद्ले जनाएको छ।
यसपछि वैशाख १ गते गोरखापत्रमा ७ दिने सार्वजनिक सूचना जारी गर्नुका साथै भृकुटीमण्डप क्षेत्रमा समेत सूचना टाँस गरिएको थियो। पहिलो चरणको म्यादमा केहीले आंशिक रकम बुझाए पनि रिपोर्टर्स क्लबसहित १८ वटा संस्थाले अझै बक्यौता नतिरेको परिषद्को भनाइ छ।
अब थप गरिएको सात दिनभित्र पनि बक्यौता रकम नबुझाएमा प्रचलित कानुनअनुसार सरकारी बाँकी सरह असुलउपर गर्ने तथा कडा कानुनी कारबाही प्रक्रिया अघि बढाइने समाज कल्याण परिषद्ले चेतावनी दिएको छ।