काठमाडौँ
नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुरले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरवारस्थित परराष्ट्र मन्त्रालययमा भएको उक्त भेटमा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार भेटका क्रममा नेपाल–संयुक्त राज्य अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने, व्यापार तथा लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्ने र आर्थिक साझेदारीलाई अझ मजबुत बनाउने विषयमा कुराकानी भएको थियो। दुवै पक्षले आपसी हितका क्षेत्रमा सहकार्य बढाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाल र अमेरिकाबीचको दीर्घकालीन कूटनीतिक सम्बन्धलाई आर्थिक विकाससँग जोडेर अघि बढाउने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ।
तीनदिने नेपाल भ्रमणका क्रममा कपुरले विभिन्न राजनीतिक नेतृत्व तथा उद्योगपतिहरूसँग पनि भेटघाट गरेका छन्। यस क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग समेत छलफल गरेका थिए भने आज अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गर्ने कार्यक्रम रहेको छ।