काठमाडौँ
अभिनेता दयाहाङ राईले ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ को दोस्रो संस्करण औपचारिक रूपमा घोषणा गरेका छन्। ललितपुरमा आयोजित कार्यक्रममा प्रतियोगिताको ट्रफी सार्वजनिक गर्दै प्रतियोगिताबारे विस्तृत जानकारी दिइएको हो।
यो विश्वव्यापी नृत्य प्रतियोगिता सन् २००८ मा दक्षिणी क्यालिफोर्नियाबाट सुरु भएको हो र हाल ५० भन्दा बढी देशमा विस्तार भइसकेको छ। आयोजकका अनुसार नेपाली प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा परिचित गराउने उद्देश्यले प्रतियोगिता नेपालमा आयोजना गरिएको हो।
प्रतियोगितामा निर्णायकको रूपमा बलिउडका चर्चित कोरियोग्राफर टेरेन्स लुइस, नेपाली नृत्य निर्देशक किरण थापा र जेडी तमु रहनेछन्। कार्यक्रममा दयाहाङ राईले नृत्यलाई अभिव्यक्तिको शक्तिशाली माध्यम भएको उल्लेख गर्दै यसले संस्कृति र पहिचान जोगाउन सहयोग गर्ने बताए।
प्रतियोगिताका राष्ट्रिय निर्देशक रोशन गहतराजका अनुसार यो संस्करणलाई नेपाली नृत्यकर्मीका लागि अन्तर्राष्ट्रिय स्तरको अवसरका रूपमा विकास गर्न खोजिएको हो। प्रतियोगिताको विजेताले नगद पुरस्कारसहित २४ क्यारेट गोल्ड प्लेटेड ट्रफी र अन्य उपहार प्राप्त गर्नेछन्।
प्रतियोगिताको अडिसन वैशाख १९ गते नेपालगन्जबाट सुरु हुनेछ। त्यसपछि बुटवल, पोखरा, काठमाडौं र इटहरीमा छनौट चरण हुनेछन्। सेमिफाइनल जेठ २१ गते र फाइनल जेठ २३ गते सम्पन्न हुने आयोजकले जनाएको छ।