काठमाडौँ
चलचित्र ‘महाराजधिराज’मा अभिनेत्री पूजा शर्मा अनुबन्ध भएकी छन्। केकी अधिकारीपछि निर्माण टिमले उनलाई मुख्य भूमिकामा भित्र्याएको हो। यससँगै चलचित्रको स्टारकास्ट थप बलियो बनेको निर्माण पक्षले जनाएको छ।
यसअघि अभिनेता पुष्प खड्का मुख्य भूमिकामा अनुबन्ध भइसकेका थिए। पछिल्लो चरणमा हेमन्त बुढाथोकी पनि टिममा जोडिएका छन्। निर्माण पक्षले कलाकार अनुबन्ध गर्ने क्रम अन्तिम चरणमा पुगेको जनाएको छ।
निर्देशक परिच्छेद सेनको निर्देशनमा बन्न लागेको यस चलचित्रमा पुष्प, पूजा र केकीसँगै नीर शाह, आर्यन सिक्देल, रमेश उप्रेती, उषा रजक, हिउँबाला गौतम, जयकिशन बस्नेत, शिशिर भण्डारी, गजित विष्ट र आशा पौडेललगायत कलाकार रहनेछन्। चलचित्रमा करिब ८० भन्दा बढी कलाकार सहभागी हुने निर्माण टिमले जनाएको छ।
निर्माण टिमका अनुसार यो फिल्म ऐतिहासिक पृष्ठभूमिमा आधारित पिरियड ड्रामा हुनेछ। चलचित्रको छायांकन आगामी वैशाखको दोस्रो सातापछि सुरु गर्ने तयारी गरिएको छ। छायांकन सुनसरीको श्रीलंका टापुबाट सुरु गरी काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न स्थानमा गरिनेछ।
‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्टले बलियो स्टारकास्टअनुसार नै फिल्म पनि सशक्त बन्ने विश्वास व्यक्त गरेका छन्। चलचित्र छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको हो।
निर्मातामा रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट रहेका छन्। निर्देशक सेन स्वयंले कथा लेखन पनि गरेका छन्।
निर्माण टिमका अनुसार चलचित्रलाई आगामी बडादशैंको फूलपातीको अवसरमा देशव्यापी प्रदर्शन गर्ने तयारी गरिएको छ।